काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिश जित निकाल्दै समूह विजेताका रूपमा फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहीबार अमेरिकाको क्याम्पिङ वर्ल्ड रंगशालामा सिटीले इटालियन क्लब युभेन्टसविरुद्ध ५-२ को जित निकाल्यो ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको सिटी समूह ‘जी’ को शीर्ष स्थानमा रह्यो । पहिलो हार बेहोरेको युभेन्टस पनि समान खेलबाट ६ अंकका साथ उपविजेताका रूपमा अगाडि बढ्यो ।
सिटीलाई जित दिलाउन जेरिमी डोकु, एर्लिङ हालान्ड, फिल फोडेन र साभिन्होले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । युभेन्टसका लागि ट्युन कोपमेइनर्स र डुसन भ्लाहोभिचले गोल फर्काए ।
खेलको नवौं मिनेटमा डोकुको गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर दुई मिनेटपछि नै कोपमेनर्सले युभेन्टसलाई बराबरीमा ल्याए ।
पियरे कालुलुबाट २६औं मिनेटमा आत्मघाती गोल हुनपुग्दा सिटी २-१ ले अगाडि बढ्यो । ५२औं मिनेटमा हालान्डले सिटीका लागि तेस्रो गोल गरे ।
फोडेनले ६९ र साभिन्होले ७५औं मिनेटमा गोल गर्दा सिटीको अग्रता ५-१ मा पुग्यो । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा भ्लाहोभिचले युभेन्टसका लागि दोस्रो गोल फर्काए ।
यही समूहको अर्को खेलमा अल अइनले वायडाड एसीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्यो ।