काठमाडौं । अमेरिकन राजदूतावास प्रथम डिप्लोम्याटिक कपको च्याम्पियन बनेको छ ।
बालुवाटारस्थित ढुकु फुटसल हबमा आइतबार सम्पन्न फाइनलमा अमेरिकन राजदूतावासले सार्क सचिवालयविरुद्ध पेनाल्ट सुटआउटमा ३-१ को जित निकाल्यो ।
निर्धारित समय ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
सेमिफाइनलमा अमेरिकन राजदूतावासले भारतीय राजदूतावासलाई २-१ तथा सार्क सचिवालयले आयोजका परराष्ट्र मन्त्रालयको ‘बी’ टोलीलाई ५-० ले पराजित गरेका थिए ।

उपविजेता सार्क सचिवालयका अब्दुल्लाह नजिम प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी आयोजक परराष्ट्र मन्त्रालयको ‘बी’ का शिव बानियाँ सर्वाधिक गोलकर्ता तथा च्याम्पियन अमेरिकन राजदूतावासका नवराज उत्कृष्ट गोलरक्षक बने ।
बिहीबार र आइतबार सञ्चालन भएको प्रतियोगितामा आयोजक परराष्ट्र मन्त्रालयका दुईसहित १३ टोली सहभागी थिए ।