काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनको एथलेटिको क्लब बिल्वाओविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
सान मामेस रंगशालामा पाहुना टोली युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई तथा क्यासिमिरोले एक गोल गरे ।
खेलको ३०औं मिनेटमा क्यासिमिरोको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । उनले म्यानुयल उगार्टेको पासलाई पोस्टको दिशा दिए ।
त्यसको पाँच मिनेटपछि नै रक्षक ड्यानी भिभियनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एथलेटिको १० खेलाडीमा समेटियो । रास्मस होज्लन्डलाई बक्सभित्र लडाएपछि भिभियनले सीधै रातो कार्डको सामना गरेका थिए ।
फर्नान्डेसले ३७औं मिनेटमा पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । ४५औं मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । यस पटक पनि उगार्टेले अवसर सिर्जना गरे ।
अब दोस्रो लिग युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।