नेपालगञ्ज । घरेलु टोली बाँके-११ विरुद्ध ३-० को जित निकाल्दै रौतहट जिल्ला फुटबल संघ लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बाँकेको नेपालगञ्ज रंगशालामा रौतहटलाई जित दिलाउन जेनिफर रानामगर, समीक्षा राई तथा पियुली रोयले गोल गरे। खेलमा सिम्रन राई प्लेयर अफ दि म्याच घोषित भइन् ।
रौतहटले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा दुई गोल गर्यो ।
जेनिफरको गोलमार्फत खेलको २७औं मिनेटमा रौटहटले अग्रता लिएको थियो । सेनु परियारको पासलाई जेनिफरले उत्कृष्ट हेडर गोल गरेकी थिइन् ।
दोस्रो हाफको सुरुमै रौतहटले अग्रता दोब्बर बनायो । जेनिफरकै पासमा समीक्षा राई गोल गरिन् ।
भारतीय खेलाडी पियुलीले ५१औं मिनेटमा गोल गर्दा रौटहटको अग्रता ३-० मा पुग्यो । उनले जेनिफरको क्रसलाई वान टचमै पोस्टको दिशा दिइन् ।
रौतहटले फाइनल प्रवेशको लागि वैशाख १० गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र कर्णाली प्रदेशबीचको विजेतासँग खेल्नेछ । एपिएफले सोमबार कर्णाली प्रदेश फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।