काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
प्लानिङ ब्वाइजले बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मध्यपुर युथ एसोसिएसनविरुद्ध २-० को जित दर्ता गर्यो ।
जितसँगै तीन खेलमा ९ अंक जोडेको प्लानिङ ब्वाइज शीर्षस्थानमा उक्लिएको छ । पराजित मध्यपुर समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ ।
यसअघि प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ र च्यासल युथ क्लबलाई ४-० ले पराजित गरेको थियो । यता टुसाल युथ क्लबसँग १-१ को बराबरीमा रोकिएको मध्यपुरले झापालाई २-१ ले हराएको थियो ।

प्लानिङ ब्वाइजलाई जित दिलाउन विशाल दर्जी र फागुराम थारुले गोल गरे ।
खेलको ३०औं मिनेटमा विशालको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । ७७औं मिनेटमा फागुरामले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
इन्जुरी समयमा सजिन थापामगर र बिरोचनकुमार गोलेले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मध्यपुर ९ खेलाडीमा समेटिएको थियो ।