काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले घानाका स्ट्राइकर टेटे फिलिप अजालाई अनुबन्ध गरेको छ ।
बुटबलले एनएसएलको तेस्रो संस्करणका लागि २६ वर्षिय अजासँग सम्झौता गरेको हो । उनीसँग भारत, बंगलादेश र इथोपियाको लिग खेलेको अनुभव छ ।
अजाले पछिल्लो पटक बंगलादेशको शेख जमाल धनमोन्डी क्लबबाट खेलेका थिए ।
अजा लुम्बिनी भित्रिने छैटौं तथा अन्तिम विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकिएल ओजिदीझा तमारा, इङ्लिस रक्षक नाथन माभिला, स्कटिस मिडफिल्डर फ्याङ्क रोस, जापानी फरवार्ड केन्ता हारा र इङ्लिस रक्षक एडम मिटरलाई भित्र्याएको थियो ।
राष्ट्रिय टोलीका मिडफिल्डर मनीष डाँगीलाई मार्की बनाएको बुटवलले भुटानका पुष्पलाल शर्मालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ बाट सुरु हुँदैछ । बुटवलले चैत १७ मा झापा एफसीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
एनएसएलको यो संस्करणमा यी दुईसहित एफसी चितवन, काठमाडौं रेजर्स एफसी, साबिक विजेता ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी र धनगढी एफसी गरि सात टोलीले सहभागिता जनाउने छन् ।