काठमाडौं । इरान आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भएको छ । एसिया छनोटमा मंगलबार उज्वेकिस्तानसँग २-२ को बराबरी खेल्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।
यो नतिजासँगै आठ खेलमा २० अंक जोडेको इरान समूह ‘ए’ मा शीर्षस्थानमा छ । उज्वेकिस्तान समान खेलबाट १७ अंकका साथ दोस्रो स्थानमा छ । ।
आजादी स्पोर्टस कम्प्लेक्समा घरेलु टोली इरानका लागि दुवै गोल मेहदी तारेमीले गरे । उज्वेकिस्तानका लागि खोजिमत एर्किनोभ र एब्बोस्बेक फेजुलेभले गोल गरे ।
खेलको १६औं मिनेटमा एर्किनोभलको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । तारेमीले ५२औं मिनेटमा गोल गर्दै इरानलाई बराबरीमा ल्याए ।
एक मिनेटपछि नै फेजुलेभले गोल गर्दै उज्वेकिस्तानलाई २-१ ले अगाडि बढाए । तारेमीले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इरानलाई हारबाट जोगाए ।
इरान लगातार चौथो र समग्रमा सातौं पटक विश्वकपमा छनोट भएको हो ।
आगामी वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपका लागि छनोट चरणबाट हालसम्म चार टोलीले स्थान पक्का गरिसकेका छन् । यसअघि एसियाबाट जापान, ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड र दक्षिण अमेरिकाबाट साबिक विजेता अर्जेन्टिनाले विश्वकपको टिकट काटिसकेका थिए ।