काठमाडौं । नेपालले एएफसी एसिया कप छनोटअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा मलेसियाविरुद्ध हार बेहोरेको छ ।
मंगलबार सुल्तान इब्राहिम लार्कीन रंगशालामा घरेलु टोली मलेसियाले नेपाललाई २-० ले पराजित गर्यो । पहिलो हाफमा एक गोलको अग्रता लिएको मलेसियाले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
नेपालविरुद्ध एकपक्षीय रुपमा हाबी देखिएको मलेसियाले खेलको २९औं मिनेटमा हेक्टर हेभेलको गोलमार्फत अग्रता लिएको थियो । खेलको ७१औं मिनेटमा लाभेरे कोर्विन ओङले मलेसियाको अग्रतालाई दोब्बर बनाए ।
जितसँगै समूह ‘एफ’मा मलेसियाले स्पष्ट तीन अंक जोड्यो । एसिया कप छनोटमा नेपाल मलेसियासँगै भियतनाम र लाओससम्मिलित समूह ‘एफ’ मा छ । होम एण्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ खेल खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरबियामा हुने एसियन कपको १९औं संस्करणमा स्थान पक्का गर्नेछ । मंगलबार समूहको पहिलो खेलमा भियतनामले लाओसमाथि ५-० को फराकिलो जित हासिल गर्यो ।
अब नेपालले जुन १० मा लाओसविरुद्ध समूहको आफ्नो दोस्रो खेल खेल्नेछ ।