काठमाडौं । सिंगापुरलाई मैत्रीपूर्ण फुटबलमा १–० ले हराएको नेपाली राष्ट्रिय फुटबल टोलीले एसियन कप छनोटको पहिलो खेलमा आज (मंगलबार) मलेसियासँग खेल्दैछ ।
खेल मलेसियामा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । फिफा वरियतामा नेपाल भन्दा मलेसिया निकै बलियो छ । मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ । मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ । तर, सिंगापुरविरुद्ध ऐतिहासिक जितपछि नेपाली टिमको आत्माविश्वास बलियो छ ।
नेपालले पछिल्लो दुई खेलमा अफगानिस्तानलाई २-० र सिंगापुरलाई १-० ले हराएको छ । त्यसअघि ताजकिस्तानसँग ४–० ले पराजित भएको थियाे ।
पछिल्लो चार खेलमा स्ट्राइकर जिलेस्पीजंग कार्कीले तीन गोल गरिसकेका छन् । उनी निकै लयमा देखिन्छन् । त्यस्तै, अञ्जन विष्ट कीर्तिमानी १४ गोलको संघारमा छन् । अञ्जनले हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोल बराबरी गरिसकेका छन् ।
नेपालको लागि दोस्रो खेल खेलाउने तयारीमा रहेका अस्ट्रेलियन प्रशिक्षक म्याट रसले सिंगापुरविरुद्ध खेलेकै टिमलाई निरन्तरता दिने योजनामा छन् । सो खेलमा नेपाल आक्रमक फुटबल खेल्न सफल भएको थियो ।
खेलअघि नेपालका कप्तान किरणले मलेसियामा पनि नेपाली समर्थक हुँदा खेल्न सहज हुने बताए । उनले सिंगापुरसँगको नतिजापछि खेल्न उत्साहित रहेको बताएका छन् । ‘सिंगापुरसँगको खेलपछि नेपाली खेलाडी मलेसियासँग उत्साहित छौं । नेपाली समर्थकपनि हुँदा हामीलाई सहज हुन्छ ।’
खासमा यो खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ध्यानमा गएन । एन्फा नेतृत्व रंगशालाको स्वामित्व नपाएपछि राखेपलाई जसरी पनि दुःख दिन चाहन्थ्यो । सोही कारण एसियन फुटबल महासंघ (एएफसी)ले एन्फाको अनुरोधमा यो खेल मलेसियामा सारेको हो ।
नेपालको सम्भावित टिमः
गोलकिपरः किरणकुमार लिम्बु
रक्षकः सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ
मिडफिल्डरः एरिक विष्ट, सुमित श्रेष्ठ, आयुष घलान, मनिष डांगी
स्ट्राइकरः अञ्जन विष्ट, जिलेस्पीजंग कार्की