काठमाडौं । न्युजिल्याल्यान्ड आगामी वर्ष हुने फिफा विश्वकपमा छनोट भएको छ ।
ओसियाना क्षेत्रको छनोटमा तेस्रो चरणको फाइनलमा सोमबार न्यु कासेडोनियालाई ३-० ले पराजित गर्दै न्युजिल्यान्डले तेस्रो पटक फुटबल विश्वकपमा स्थान बनाएको हो । न्यु कासेडोनियाले भने अब विश्वकप पुग्नका लागि प्लेअफ खेल्नुपर्नेछ ।
यसअघि न्युजिल्यान्डले सन् १९८२ र २०१० मा फिफा विश्वकप खेलेको थियो ।
इडेन पार्कमा घरेलु टाेली न्युजिल्यान्डलाई जित दिलाउन माइकल बोक्जल, कोस्टा बार्बारोउसेस र एलिजा जस्टले गोल गरे । तीनै गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ६१औं मिनेटमा बोक्जलको गोलमार्फत न्युजिल्यान्डले अग्रता लिएको थियो । पाँच मिनेटपछि नै बार्बारोउसेसले टोलीको अग्रता दोब्बर बनाए ।
जस्टले ८०औै मिनेटमा गोल गर्दै न्युजिल्यान्डलाई सहज जित दिलाए ।
न्युजिल्यान्डआगामी फिफा विश्वकपमा छनोट हुनेदोस्रो टोली हो ।यसअघि एसियाबाट जापान छनोट भइसकेको छ ।
यस्तै, आयोजकको रूपमा उत्तर अमेरिकाका तीन टोली अमेरिका, क्यानाडा र मेक्सिको स्वतः विश्वकपमा छनोट भइसकेका छन् ।