काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शीर्ष डिभिजन लिगमा संकटा र मछिन्द्रका समर्थकले धिमे र झ्याली बजाउँदा, ब्वाइज युनियनको मन पक्कै दुख्दो हो । अनि फ्रेन्ड्स र न्युरोड टिम (एनआरटी)ले खेल जितेको खुसि मनाउँदा त झन् त्रिपुरेश्वरका स्थानीय समर्थकको के हालत होला ?
त्रिपुरेश्वरको रैथाने क्लब हुनुको नाताले आफ्नो आँगनमा अरुले जितको खुसी मनाउँदा रंगशाला वरिपरीका समर्थकको मन चसक्क हुनु स्वभाविक हो । अझ फ्रेन्ड्स र एनआरटीसँगको पुरानो प्रतिद्धन्द्धीता सम्झँदा त्यो दुखाई झनै गहिरो बन्ने गर्छ ।
अंग्रेजीमा एउटा सव्दावली छ, ‘फलन जायन्ट’ अर्थात ओराली लागेको महारथी । ब्वाइज युनियनको वर्तमानलाई ठ्याक्कै यो सव्दावली सुहाउँछ ।
एउटा समय थियो, नेपाली फुटबलमा ब्वाइज युनियन भन्ने नाम नै आफैमा ठूलो धाकको विषय थियो । नेपाली मुलका महान भारतीय खेलाडी श्याम थापादेखि नेपाली राष्ट्रिय टिमका पहिलो आधिकारिक कप्तान रुपकराज शर्मा यही क्लबको जर्सीमा मैदान उत्रिन्थे । सुरेश पन्थी, अशोक केसी, विज्ञानराज शर्मालगायतका स्टारहरु पनि ब्वाइज युनियन परिवारकै सदस्य हुन्थे । अनि देशमा हुने हरेक खाले प्रतियोगितामा ब्वाइज युनियन निर्विवाद दाबेदार हुने गर्थ्यो । त्यही स्टार खेलाडीको जमघटले नै २०३२ सालमा टोलीले लिग जितेको थियो । यो उपलब्धि टोलीका लागि वास्तवमै ऐतिहासिक थियो । किनभने क्लब ‘बी’ बाट ‘ए’ डिभिजन उक्लिएकै वर्ष च्याम्पियन बनेको थियो ।

तर ब्वाइज युनियनसँग अब यो रवाफ रहेन । रवाफशाली ती दिन त नेपाली फुटबलमा इतिहास भइसक्यो । त्रिपुरेश्वरको स्थानीय टोलीले घरेलु फुटबलमा शीर्ष डिभिजनको हैसियत समेत गुमाएको ११ वर्ष भइसक्यो ।
यो ११ वर्षको अन्तरालमा मछिन्द्रले दुई पटक शीर्ष डिभिजनको लिग जितिसक्यो । यसबीच तीनपटक दोस्रो डिभिजनका लिग भएका छन् । यी कुनै पनि संस्करणमा ब्वाइज युनियनले बढुवा हुने संकेत देखाएको छैन ।
विक्रम सम्बत् २००९ मा स्थापना भएको ब्वाइज युनियन २०२४ सालमा पहिलो पटक शीर्ष डिभिजनमा बढुवा भएको थियो । त्यसको तीन वर्ष पछि २०२७ सालमा अप्रत्याशित रुपमा टोली दोस्रो डिभिजनमा फर्कियो । त्यसपछि ब्वाइज युनियनलाई शीर्ष डिभिजनमा फर्किन थप चार वर्ष लाग्यो । २०३१ सालमा क्लब पुनः ‘ए’मा बढुवा भयो । लगत्तैको संस्करणमा क्लब ‘ए’ डिभिजन लिग च्याम्पियन भएको हो । त्यसयता भने क्लबले लिग उपाधि जित्न सकेको छैन ।
ब्वाइज युनियन पछिल्लो पटक २०७० सालको लिगमा रेलिगेशनमा परेको थियो । त्यतिबेला ब्वाइज युनियनसँगै गर्विलो इतिहास बोकेको अर्को टोली रानिपोखरी कर्नर टिम (आरसिटी) पनि दोस्रो डिभिजनमा घटुवा भएको थियो । ब्वाइज युनियनको इतिहासमा एउटा रोचक रुढीवादी कथा दोहोरिने क्रममा थियो । तर, कथाले अर्कै बाटो लियो । २०६७ सालको जेठमा सम्पन्न लिगमा ब्वाइज युनियन १३औं स्थानमा रहँदै ३५ वर्षपछि रेलिगेशनमा परेको थियो । त्यसको दुई वर्षपछि, २०६९ को फागुनमा सम्पन्न लिगमा क्लब ‘बी’ डिभिजनको च्याम्पियन बन्दै पुनः ‘ए’ डिभिजनमा उक्लियो । लगत्तै २०७० को फागुनमा सम्पन्न लिगमा ब्वाइज युनियनका समर्थकले पक्कै पनि २०३२ कै सुखद अन्त्यको आश गरेका थिए । तर, क्लब दयनीय तरिकाले घटुवा भयो । आरसीटी र ब्वाइज युनियन दुवैले १२ खेलमा मात्र चार अंक जोडेका थिए ।

ब्वाइज युनियनले आइतबारबाट सुरु भएको ‘बी’ डिभिजन लिग २०८१/८२ का लागि लगनखेलको बुद्धि विकास खेल मैदानमा दुई महिना तयारी गरेको छ । शीर्ष डिभिजनका अनुभवीसँगै मोफसलका खेलाडी र युवा खेलाडीलाई समेट्दै ब्वाइज युनियनको टोली तयार गरिएको छ । टोलीको नेतृत्व २२ वर्षीय मानबहादुर तामाङले गर्नेछन् । ६ वर्षअघि जवालेखबाट ललित स्मृति यु-१८ च्याम्पियनसिप खेलेका मानबहादुरका लागि यो ब्वाइज युनियनबाट चौथो सिजन हुनेछ ।
‘यो टोलीमा अधिकतम जावलाखेलबाट २०१८ मा ललित स्मृति यु–१८ खेलेका खेलाडीहरु छन् । म आफैं पनि त्यस क्लबका सदस्य थिएँ । अहिले टोलीलाई हेर्दा आफ्नो बाल्यकाल फर्किएको जस्तो अनुभव भइरहेको छ,’ मानबहादुर भन्छन्, ‘हाम्रो तयारी राम्रो भएको छ । च्याम्पियन हुने नै लक्ष्य छ ।’
त्यस्तै तेस्रो सिजन बिताइरहेका २६ वर्षीय फरवार्ड मिलन लिम्बू यसपाली अनुभव भएका खेलाडीको बाहुल्य रहेकाले लिगमा प्रदर्शन राम्रो हुने बताउँछन् ।
‘यसपाली हामीसँग डिभिजन फुटबलको अनुभव भएका र युवा खेलाडीको मिश्रण छ । युवा खेलाडीले पनि विगतका दिनमा आफूलाई प्रमाणित गरिसकेका छन् । लक्ष्य हाम्रो शीर्ष डिभिजनमा पुग्नु नै हो,’ मिलनले बताए ।

‘ए’ डिभिजनको अनुभव बोकिसकेका २३ वर्षीय फरवार्ड सुसान लामा ब्वाइज युनियनका प्लेयर्स टु वाच हुन् । उमेर समूह र सिनियर फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीको प्रतिनिधित्व गरिसकेका सुसानले च्यासलको जर्सी पनि लगाएका छन् । पछिल्ला केही वर्ष घुँडाको चोटका कारण मैदानबाट बाहिर रहेका सुसान सुखद पुनरागमनको लक्ष्यमा छन् ।
‘तयारी राम्रो भइरहेको छ । व्यक्तिगत कुरा गर्ने हो भने मलाई केही असहज भने पक्कै भएको छ । लगभग तीन वर्षको अन्तरालमा मैदानमा फर्किँदै छु,’ सुसान भन्छन्, ‘सुखद पुनरागमनको लक्ष्यमा छु ।’
खेलाडीहरु शीर्ष डिभिजनमा बढुवा हुन दिनरात मिहिनेत गरिरहेको भनिरहँदा अध्यक्ष निरज राउत भने यसपाली क्लबको लक्ष्य शीर्ष चारभित्र पर्नुु मात्र रहेको बताउँछन् । उनका अनुसार क्लबको कमजोर आर्थिक अवस्था, नियमित स्रोतको अभावलगायतका कारणले नेतृत्व समस्यामा छ ।

‘हामीले शीर्ष चारमा पर्ने लक्ष्य राखेका छौं,’ राउत सुनाउँछन्, ‘आधुनिक फुटबलमा आर्थिक अवस्थाले ठूलो प्रभाव पार्छ । हामीलाई पछिल्लो समय गाह्रो भइरहेको छ । निश्चित आयस्रोत जुटाउन सकिरहेका छैनौं । हामीले चुनौती सामना गर्दै आएका छौं । ती परिस्थितिलाई पार लगाउँदै अहिलेसम्म दोस्रो डिभिजनमा टिकिरहेका छौं ।’
ब्वाइज युनियनले फागुन २८ गते नयाँबस्ती युवा क्लबसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ ।