काठमाडौं । क्रिष्ट भण्डारीको उत्कृष्ट प्रदर्शनप्रेरित संकटा क्लबले एन्फा यु-१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ६-० को एकतर्फी जित दर्ता गरेको छ ।
मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मुख्यालय मैदानमा संकटालाई जित दिलाउन क्रिष्टले ह्याट्रिक गरे । यसैगरी पेम्बा तामाङ र दीपकको नाममा समान एक गोल रहँदा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
जितसँगै संकटाले १५ खेलबाट २६ अंक जोडेको छ । पराजित आर्मीको समान खेलबाट एक अंक छ ।
खेलको दोस्रो मिनेटमै क्रिष्टको गोलमार्फत संकटाले अग्रता लिएको थियो । एक मिनेटपछि नै रुद्रकुमार योगीबाट आत्मघाती गोल हुन पुग्दा संकटाको अग्रत दोब्बर बन्यो ।
क्रिष्टले १८ र २४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ३९औं मिनेटमा पेम्बाले गोल गर्दा संकटाले पहिलो हाफमै ५-० को आरमदायी अग्रता बनायो ।
दीपकले ५५औं मिनेटमा गोल गर्दै संकटालाई ६-० को एकतर्फी जित दिलाए ।