काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी एफसी चितवनले मिडफिल्डर छिरिङ गुरुङलाई रिटेन गरेको छ ।
चितवनले एनएसएलको तेस्रो संस्करणका लागि छिरिङलाई ‘ए’ क्याटोगरीबाट रिटेन गरिएको जानकारी दियो ।
उनी चितवनले रिनेटन गरेको दोस्रो खेलाडी हुन् । यसअघि क्लबले गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरेको थियो ।
यस पटक चितवनले फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको छ । यसैगरी क्लबले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।
एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ । यसपल्ट चितवनसहित साबिक विजेता ललितपुर सिटी एफसी, झापा एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरि सात टोलीले मात्रै सहभागिता जनाउने छन् ।
आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइए) का अनुसार गत संस्करणमा सहभागिता जनाएका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने नाम फिर्ता लिएका छन् ।