काठमाडौं । किर्गिस्तानमाथि फराकिलो जित हासिल गर्दै म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिक पुगेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० ले हरायो । म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरे । एक गोल सन्दर लिनको नाममा रह्यो । पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
प्रतियोगितमा म्यानमारको यो लगातार दोस्रो जित हो । यो जितसँगै म्यानमारले शीर्ष स्थानमा आफ्नो पकडलाई बलियो बनाएको छ । म्यानमारले आफ्नो पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो । चार देशसम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ ।
दिनको दोस्रो खेलमा साँझ ६ बजे घरेलु टोली नेपालले लेबनानको सामना गर्नेछ । लेबनानलाई हराए म्यानमार र नेपालले एक खेलअगावै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको थियो ।
सिंगल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको प्रतियोगितामा अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउने छन् ।