काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत लेबनानविरुद्ध नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छँदा अट्याकिङ मडफिल्डर विमला चौधरीको सेटपीसलाई सदुपयोग गर्दै गोल गरिन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
खेलको नवौं मिनेटमा लेबनानले पहिलो अवसर सृजना गर्यो । विंगर क्रिस्टि मालौफको प्रहार नेपाली गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बाले बचाइन् । चार मिनेटपछि लेबनानले अर्को अवसरलाई गोलमा परिणत गर्न सकेन । यसपालि स्ट्राइकर लेला इस्कान्डारले अन्जिलालाई बिट गर्न सकिनन् ।
खेलको १५औं मिनेटमा प्रीति राईको प्रहार आकाशिँदा लेबनानले राहतको सास फेर्यो । २६औं मिनेटमा रेखाले फाइनल टच दिन नसक्दा नेपालले अग्रता लिन सकेन । राइट साइडबाट सवीता रानामगरले दिएको क्रसलाई बक्सभित्र बसेकी विमलाले वान टचमा रेखालाई गोलको मौका सृजना गरिदिइन् । तर, रेखाले फाइनल टच दिन नसक्दा मौका खेर गयो ।