काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार निकालेको तालिकाअनुसार उद्घाटन खेल फागुन ११ गते सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेताले क्वार्टरफाइनलमा संकटा क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा यी दुईसहित मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्युरोड टिम संकटा, भुटानको ट्रास्पोर्ट युनाइटेड, र आयोजकको टोलीले सहभागिता जनाउने छन् ।
प्रतियोगिता फागुन ११ देखि १९ गतेसम्म हुँदैछ । मछिन्द्र दुवै संस्कणको विजेता हो ।
पछिल्लो संस्करण खेलका चर्च ब्वाइज युनाइटेड, थ्री स्टार क्लब, जावलाखेल युथ क्लब र मानेभञ्याङ फुटबल क्लबले भने यस पटक हुने छैनन् । उनीहरूको स्थानमा एपिएफ, संकटा, ब्ल्याक बुल्स र ट्रास्पोर्टलाई समावेश गराइएको हो ।
प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेल एन्फा मुख्यालय मैदान तथा सेमिफाइल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।
तेस्रो संस्करणमा पुरस्कार रकम बृद्धि भएको छ । यस पटक विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।
गत संस्करणको विजेताले ११ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ ।
त्यस्तै हरेक खेल जित्ने टोलीले २५ हजार रुपैयाँ पाउने छ ।