काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण आगामी चैतको मध्यमा सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच चैत १६ मा प्रतियोगिता सुरु गर्ने सम्झौता भएको बिहीबार आयोजकले जानकारी गराएको छ ।
एनएसइएमका प्रवन्ध निर्देशक श्रीयांश कार्कीले प्रतियोगिताको तेस्रो संस्करणको मिति घोषणा गर्न पाउँदा आफू निक्कै उत्साहित रहेको बताएका छन् ।
‘नेपाली फुटबलमा लगाब राख्ने समर्थकका बीचमा एनएसएलको तेस्रो संस्करणको घोषणा गर्न पाउँदा हामी निक्कै उत्साहित छौं,’ कार्कीले भनेका छन्, ‘यो हाम्रा खेलाडी, क्लब र सबै सरोकारवालाहरुको फुटबल लगाबलाई सम्बोधन गर्ने साझा थलो हुनेछ । नेपाली फुटबललाई माथिल्लो स्तरमा उकास्नका लागि प्रतियोगिताले योगदान गर्नेमा हामी विश्वस्त छौं ।’
यसैगरी एन्फाका महासचिव किरण राईले पनि नेपाली फुटबल क्यालेन्डरमा एनएसएलले विशेष स्थान पाएको बताए । चैत १२ गते नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएकाले एनएसएलका लागि यो उपयुक्त समय हुने उनले बताए ।
एन्फाको आफ्नै आयोजनामा भने शीर्ष डिभिजनको लिग समेत नभएको दुई वर्ष बितिसकेको छ ।