लियोनल मेसी

मेसी बने सर्वाधिक उपाधि जित्ने खेलाडी

काठमाडौं । अर्जेन्टिनका कप्तान लियोनल मेसी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका छन् ।

अमेरिकी मेजर सकर लिग (एमएलएस)को इन्टर मियामीलाई क्लब इतिहासकै पहिलो उपाधि दिलाएसँगै मेसी विश्व फुटबलमा सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी बनेका हुन् ।

आइतबार भएको लिग कपको फाइनलमा एक गोल गरेका मेसी प्रतियोगितामा कुल १० सहित उच्च गोलकर्ता बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि मेसी नै चुनिए ।

बार्सिलोना र पेरिस सेन्ट जर्मन (पिएसजी)का पूर्वखेलाडी मेसीले हालसम्म कुल ४४ उपाधि जितिसकेका छन् । उनले ब्राजिलका ड्यानी अल्भेजलाई पछि पारेका हुन् । अल्भेजले ४३ उपाधि जितेका थिए । 

 मेसीले करिब दुई दशक बार्सिलोनामा बिताउँदा ३५ उपाधि जितेका थिए ।सन् २०२१ पछि दुई सिजन फ्रेन्च क्लब पिएसजीमा रहँदा मेसीले तीन उपाधि जिते । मेसीले अर्जेन्टिनाबाट पाँच उपाधि जितेका छन् ।

मेसी यही जुलाई ट्रान्सफर विन्डोमा दुई वर्षको सम्झौतामा पिएसजीबाट मियामी भित्रिएका थिए ।