साउदी प्रो लिग

अल नासर पहिलो खेलमै इत्तिफाकसँग पराजित

काठमाडौं । स्टेफन जेरार्ड र जोर्डन हेन्डरसनले साउदी प्रो लिगमा विजयी सुरुआत गरेका छन् । सोमबार राति भएको खेलमा अल इत्तिफाकले अल नासरलाई २–१ ले हराएको थियो ।

लिभरपुलका पूर्व खेलाडीद्वयले साउदी प्रो लिगमा डेब्यु जित पाएका हुन् । जेरार्ड गत जुलाई तीनमा प्रशिक्षक नियुक्त भएका थिए । पछिल्लो महिना खेलाडीको रुपमा हेन्डरसन लिभरपुलबाट साउदी आएका हुन् ।

लिभरपुलका अर्का पूर्व खेलाडी साडियो मानेले खेलको चौथो मिनेटमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । कप्तान क्रिष्टियानो रोनाल्डो घाइते भएपछि खेलमा उपलब्ध भएनन् । अघिल्लो दिन अल नासरले अरब कप जित्दा रोनाल्डो एक सय १५ मिनेटमा घाइते भएका हुन् ।

खेलको ४७औं मिनेटमा रोविन कुइसनले बराबरी गोल गरे । रोविनले अली हजाजीको पासमा गोल गरेका हुन् । ५३आंै मिनेटमा मौसा डेम्बेलेले विजयी गोल गरे । फुलहमका पूर्व खेलाडी तथा सेल्टिकका स्ट्राइकरले अल नासरका गोलकिपर नवाफ अलको गल्ती फाइदा उठाएका थिए ।