काठमाडौं । अनिल कुमार साहको कप्तानीमा शनिबारबाट सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको बलियो टोली घोषणा भएको छ ।
बिहिबार मधेश प्रादेशीक क्रिकेट संघले अनिलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । माघ २१ देखि फागुन १ गतेसम्म भएको प्रादेशीक छनोट प्रतियोगिताको आधारमा टोली तयार भएको हो ।
प्रादेशीक छनोटका आधारमा टोली छनोट गरिएको भएपनि प्रतियोगिताका सर्वाधिक विकेटकर्ता हरिशंकर साह भने टोलीमा छैनन् । मधेशले शनिबार नै जनकपुरमा कोशी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
प्रतियोगितामा ३ विभागीय (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) र ७ प्रदेश (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदरपश्चिम) का गरि जम्मा १० टोलीको सहभागीता रहन्छ ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा फाइनल सहित ४६ खेल आयोजना हुदैछ । लिग चरणमा सबै टोलीले एक आपससँग खेले पछि शीर्ष २ मा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ ।
यसपटकको प्रतियोगिता काठमाडौंका २ तथा मधेश प्रदेशका २ क्रिकेट मैदानमा हुदैछन् । काठमाडौंको टियु क्रिकेट रंगशाला र मुलपानी क्रिकेट मैदानमा समान ५ तथा फाइनल सहितका खेलहरु मधेश प्रदेशको पर्सा र जनकपुरमा हुदैछ ।
मधेशको टोली
अनिल कुमार साह(कप्तान), पवन सर्राफ, रुपेश सिंह, आदिल अन्सारी, रञ्जित कुमार, अरनिको यादव, अभिषेक तिवारी, मोहम्मद समिर, निरज यादव, विशाल पटेल, हिमाशुं दत्त, मयन यादव, विशाल सुसलिङ, आशिक बैथा, प्रदिप पासवान
