काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नियमित साधारणसभा तथा निर्वाचन नगर्न दिएको निर्देशनका बावजुद अखिल नेपाल फुटबल संघ (एन्फा) ले साधारण सभाको औपचारिक आह्वान गरेको छ ।
कार्यकाल बाँकी रहँदै एन्फाले गर्न लागेको अर्ली इलेक्सन सरोकारवालाबाटै विवादमा आएपछि राखेपले पटकपटक निर्वाचन रोक्न एन्फालाई निर्देशन दिएको थियो । अदालतले समेत बेलाबेलामा स्टे अर्डर जारी गरेर निर्वाचनका प्रक्रिया रोक्न एन्फालाई आदेश दिएको थियो ।
तर एन्फाले उम्मेदवारी दर्तासम्मको सबै प्रक्रिया पूरा गरेर गत महिना निर्वाचनको कार्यक्रा रोकेको बताएको थियो । राखेपले विगतमा पटकपटक दिएका निर्देशनको अटेर गरेको भन्दै एन्फालाई बिहीबार कडा पत्र लेखेर तत्काल निर्वाचन तथा साधारणसभा स्थगित गरेर तीन दिनभित्र जानकारी गराउन निर्देशन दिएको थियो । तर एन्फाले भने बिहीबारै आफ्ना सबै सदस्यहरुको नाममा सूचना जारी गर्दै चैत १३ गतेका लागि तय गरिएको साधारणसभाको औपचारिक आह्वान गरेको छ ।
एन्फाले चैत १३ गते बिहान ९ बजे झापामा साधारणसभा सुरु गर्ने भन्दै सदस्यलाई पठाएको आह्वानपत्रमा साधारणसभाको विषयसूचि समावेश छ । जसमा १९ बुँदा छन् । त्यसमा आगामी चार वर्षे कार्यकालका लागि निर्वाचनको विषय पनि समावेश छ । तर कोष्टभित्र यदी भएमा भनेर लेखिएको छ । महासचिव किरण राईद्धारा प्रेसित सूचनामा उल्ल्ेख गरिएका १८ विषयमध्ये सातवटालाई यदी भएमा भनेर अस्पष्ट बनाइएको छ ।
विषयसूचि अनुसार सबभन्दा पहिला रोलकल हुनेछ । जसअन्तर्गत साधारणसभा एन्फाको विधानको प्रक्रियाअनुसार बोलाइएको घोषणा हुनेछ । त्यसपछि विषयसूचिको स्वीकृति गराइनेछ ।
विषयसूचि स्वीकृत गराएपछि अध्यक्षको सम्बोधन, निरिक्षकहरुको नियुूक्ति, वैठकको निर्णय पु्स्तिका तयार गर्न तथा यसभन्दा अगाडिको बैठकको निर्णय स्वीकृतिको लागि सदस्यहरुको नियुक्ति गरिनेछ ।
विषयसूचिको अर्को बूँदामा सदस्यको निलम्बन वा निश्काशन (यदी भएमा) भनिएको छ । यसैगरी यसभन्दा अगाडिको साधारणसभाको बैठकको निर्णय स्वीकृत गर्ने, कार्यप्रगति प्रतिवेदन पेश गर्ने, एकिकृत तथा पुनरावलोकन गरिएको वासलात तथा नाफा नोक्सान विवरणको प्रस्तुती, लेखा परिक्षण प्रतिवेदन तथा बजेटको स्वीकृति, विधानको संसोधन प्रस्तावमा मतदान भएमा साधारणसभाको स्थायी व्यवस्थाअनुसार (यदी भएमा) उल्लेख छन् ।
त्यस्तै कार्यसमिति तथा सदस्यहरुले माथि उपधारा १ मा उल्लेख गरिएको प्रकृयाअनुसार पेश गरेको प्रस्तावउपर छलफल, कार्यसमितिको सिफारिसमा स्वतन्त्र लेखा परिक्षकको नियुक्ति (यदी भएमा), कुनै निकायको सदस्यको बर्खास्तगी (यदी भएमा), स्वतन्त्र समितिहरुका सदस्यहरुको निर्वाचन, अध्यक्ष, उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुको (यदी भएमा) निवाृचन, सदस्यता प्रवेश सम्बन्धमा (यदी लागू हुने भएमा), एन्फा कार्यसमिति वा सदस्यहरुले प्रस्ताव गरेका अन्य विषयहरु ।


