काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबका बलर ललित राजवंशी जय ट्रफी मेन्स एलिट कपको सर्बोत्कृष्ट खेलाडी भएका छन् ।
बिहिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरि पुलिस लगातार दोस्रो पटक च्याम्पियन बन्दा ललितले उत्कृष्ट बलिङ गरेका थिए ।
प्रतियोगिताको दोस्रो संस्करणमा ललित ४ खेलको ८ इनिङमा ३.०९ को इकोनोमिमा कुल २६ विकेट लिएका थिए । ललितले २ इनिङमा ५ विकेट समेत लिएका थिए । कुल २६ विकेटका साथ सर्वाधिक विकेटकर्ताको शीर्ष स्थानमा रहेका ललित प्रतियोगिताको उत्कृष्ट बलर समेत भए ।
पुलिसलाई उपाधी दिलाउन फाइनल खेलमा अलराउण्ड प्रदर्शन गरेका रशिद खान प्लेयर अफ द म्याच भए । रशिदले फाइनल खेलको पहिलो इनिङमा बलिङ तर्फ महत्वपुर्ण ४ विकेट लिदाँ दोस्रो इनिङमा ब्याटिङमा ८१ रन जोडेका थिए ।
टोलीलाई फाइनल पुर्याउन नसके पनि बागमतीका ब्याटर इशान पाण्डे ३३१ रन बनाउँदै उत्कृष्ट ब्याटर भए । इशानले ६ इनिङ खेल्दै ३ अर्धशतकको सहयोगमा ३३१ रन बनाएका थिए ।
