काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले चौथो विदेशी खेलाडीको रूपमा इङ्ल्यान्डका बेन चार्ल्सवर्थलाई अनुबन्ध गरेको छ ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डौं ले यसअघि नै दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस र अमेरिकी ब्याटर मिलिन्ड कुमारलाई अनुबन्धन गरिसकेको छ ।
२४ वर्षे अलराउन्डर चार्ल्सवर्थले ग्लोसेस्टरसायरबाट इङ्ल्यान्डको काउन्टी क्रिकेट खेल्दै आएका छन् ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू गरेका थिए । उनले ५७ खेलमा चार शतक र १५ अर्धशतकसहित २ हजार ७५४ रन बनाएका छन् । यसैगरी उनको नाममा ३० विकेट पनि छ ।
यस्तै चार्ल्सवर्थले ४४ ट्वान्टी-२० खेलमा तीन अर्धशतकसहित ७७६ रन बनाएका छन् । इङ्लिस यु-१९ टाेलीको प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजन युएईको आइएल टी-२० मा एमआई इमिरेट्सको टोलीमा थिए ।
काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
