काठमाडौं । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्डले १४औं स्थानको अग्सबर्गविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । जितसँगै डर्टमन्डले शीर्ष स्थानको बार्यन म्युनिखसँग दूरी चार अंकमा घटायो ।
शनिबार अग्सबर्ग एरिना रंगशालामा सम्पन्न नवौं चरणको खेलमा डर्टमन्डलाई जित दिलाउन स्ट्राइकर सेरहौ गुइरासीले निर्णायक गोल गरे । उनले पहिलो हाफ सकिन ८ मिनेट बाँकी छँदा टोलीलाई अग्रतामा ल्याएका थिए ।
पछिल्लो खेलमा पनि डर्टमन्डले कोल्नसँग संघर्षपूर्ण जित हासिल गरेको थियो । जतिबेला डर्टमन्डले ९०+(६) मिनेटमा गोल गरेको थियो ।
शनिबारको जितसँगै डर्टमन्ड २० अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्यन म्युनिखले शनिबार बायर लेभरक्युसनसँग खेल्ने तालिका छ । लेभरक्युसनलाई हराए बार्यनले डर्टमन्डसँग पुनः सात अंकको अग्रता लिनेछ । आरबी लाइपजिग ९ खेलमा २२ अंकका साथ दोस्रो स्थानमा छ ।
