काठमाडौं । रेलिगेसन क्षेत्रको नटिङ्घम फरेस्टसँग २-२ को बराबरी रोकिएपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको छ ।
शनिबार नटिङ्घमको घरेलु मैदान ‘दि सिटी ग्राउन्ड’ रंगशालामा सम्पन्न १०औं चरणको खेलमा युनाइटेडले डिफेन्सिभ मिडफिल्डर क्यासेमेरोको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । क्यासेमेरोले खेलको ३४औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको तेस्रो मिनेटमै अट्याकिङ मिडफिल्डर तथा कप्तान मोर्गन गिब्स ह्वाइटको गोलमार्फत नटिङ्घमले बराबरी गर्यो । दुई मिनेट पनि बित्न नपाउँदै इटालियन राइटब्याक निकोलो साभोनाको गोलमा नटिङ्घम २-१ ले अगाडि बढ्यो ।
निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा राइट विंगब्याक अमादले गोल गरेपछि युनाइटेड अप्रत्याशित हारबाट जोगिएको हो । पछिल्लो तीन खेलमा स्पष्ट ९ अंक जोडेको. युनाइटेडलाई यो नतिजाले धक्का पुगेको छ । युनाइटेड १७ अंक जोड्दै हालका लागि पाँचौं स्थानमा छ । पछिल्लो चार खेलमा हार बेहोरेको नटिङ्घम पुछारबाट तेस्रो स्थानमा छ ।
युनाइटेडले अब ११औं चरणको खेलमा टोटेनहम हटस्पर्शसँग खेल्नेछ । नटिङ्घमले आफूभन्दा एक स्थान माथि रहेको लिड्स युनाइटेडको चुनौती सामना गर्नेछ ।
