काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलको दोस्रो खेलमा भारतविरुद्ध चार विकेटको जित दर्ता गरेको छ ।
यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखलमा १-० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।
मेलबर्न क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्शले ४६, ट्राभिस हेडले २८, जोश इङ्लिसले २० र मिचेल ओवेनले १४ रन बनाए ।
पहिलो विकेटका लागि मार्श र हेडबीच ५१ रनको साझेदारी भएको थियो । भारतका लागि जसप्रित बुमराह, वरुण चक्रवर्ती र कुलदीप यादवले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनको योगफल तयार पारेको थियो ।
भारतका लागि अभिषेक शर्माले ३७ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी हर्षित रानाले ३७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि जोश हेजलउडले तीन, जेभियर बार्टलेट र नाथन एलिसले समान दुई तथा मार्कस स्टोइनिसले एक विकेट लिए ।
शृंखलाको तेस्रो खेल आइतबार हुनेछ ।
 
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 