माघ २९, २०८२ बिहीबार | ०९:५४:२६
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै
शनिबारको दिन

नेपालले कहिले पाउँछ टेस्ट मान्यता ?

काठमाडौं । संयुुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिका बीचको खेलमा एउटा रोचक दृश्य देखिएको थियो । एक नेपाली समर्थकले प्ले कार्डमार्फत आइसिसीलाई प्रश्न गरेका थिए ‘नेपालले कहिले आइसिसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) को मान्यता पाउँछ । 

नेपाली क्रिकेट वृत्तमा यो प्रश्न उठ्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ । जब नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाउँछ, तब यो विषय पनि उठ्न थाल्छ । नेपालले केही समयअगाडि मात्र तेस्रो पटक आइसिसी टी ट्वान्टी विश्वकपमा स्थान पक्का गरेको छ । र, नेपाली क्रिकेटमा फेरि टेस्ट मान्यताका कुराले चर्चा पाउन थालेको छ । 

नेपालले सन् २०१४ मा पहिलो पटक टी-ट्वान्टी विश्वकप खेल्दा तत्कालीन कप्तान पारस खड्काले १० वर्ष भित्रमा टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य रहेको बताएका थिए  । अहिले परिस्थिति फेरिएको छ । अहिले पारस खड्का खेल्न छाडेर व्यवस्थापनमा लागेका छन् । उनी अहिले नेपाल क्रिकेट संघ (क्यान) को सचिव हुन् । पारसको भूमिका फेरिए पनि आम समर्थकको प्रश्न फेरिएको छैन । अर्थात् फेरि पनि समर्थकहरु प्रश्न गर्दैछन्, नेपालले कहिले टेस्ट मान्यता पाउँछ ?

समर्थकका लागि नेपालले खेल्ने प्रत्येक खेलमा जित बाहेकको विकल्प हुँदैन । जहाँ नेपाली क्रिकेटको उपस्थिति हुन्छ, त्यहाँ सफलता पाउनैपर्ने भावना समर्थकले राख्नु नाजायज पनि होइन । नेपालले टेस्ट मान्यता पाउनुपर्ने विषय पनि समर्थकको त्यही भावनाको उपज हो ।

तर टेस्ट मान्यता पाउन यति सजिलो छ त ? त्यसका लागि केही आधार हुनुपर्दैन ? टिमले मैदानभित्र एकाध पटक गरेका उम्दा प्रदर्शन मात्र त्यसका लागि पर्याप्त हुन्छ त ? ठूलो संख्याका समर्थकको अगाध माया पोखिनुको कारणले मात्र आइसिसीलाई यति ठूलो निर्णयका लागि बाध्य पार्न सक्ला त ?

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का । 

पक्कै पनि यी विषयहरू नेपालले पूर्ण सदस्यता वा टेस्ट मान्यता पाउने बाटोका लागि सकारात्मक पक्षहरू हुन् । तर, यतिले मात्र पक्कै पुग्दैन । देशभित्र कम्तीमा पनि २/४ वटा अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न रंगशाला हुनुपर्यो । एउटा एनपिएलको भव्यतामा पूरा देश रमिरहेको बेला उत्तिकै भव्य रूपमा घरेलु संरचना स्थापित हुनुपर्छ । अनि पाँच दिने क्रिकेट खेल्ने कल्पना गरिरहँदा त्यसको तयारीस्वरूप दुई, तीन र चार दिने लामो स्वरूपका क्रिकेट खेल्ने बानी बसाल्नुपर्छ । लामो स्वरूपको घरेलु संरचना बनाउनुपर्ने भन्दै दशकभन्दा अगाडिदेखि उठाइँदै आएको विषयलाई व्यवहारमा लागु गरेर आइसिसीले निर्णय गर्दासम्मका लागि आफूलाई तयार पार्नुपर्छ ।

आइसिसीमा हाल ११० राष्ट्र आबद्ध छन् । जसमा १२ राष्ट्रले मात्र टेस्ट मान्यता पाएका छन् ।

पूर्वकप्तान एवं क्यानका वर्तमान सचिव खड्का तत्कालका लागि कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनु नेपाली क्रिकेटको पहिलो प्राथमिकता रहेको बताउँछन् । उनको यो भनाईले पनि नेपाली क्रिकेटको धरातल कस्तो छ भनेर बुझाउँछ ।

‘टेस्ट राष्ट्रको कुरा उठेको एक दशकभन्दा बढी भइसकेको छ । सन् २०१४ को विश्वकप खेल्दा कप्तानको रूपमा मैले नै अबको १० वर्षमा टेस्ट मान्यता पाउन सक्छ भनेको थिएँ । तर अहिलेसम्म पूरा हुन सकेको छैन । हामीले आइसिसीको पूर्ण सदस्य बन्नका लागि प्रयास गरिरहेका छौं । त्यसमा आइसिसीका केही सर्त छन्,’ खड्का भन्छन्, ‘अहिले क्यानको प्राथमिकता क्रिकेट मैदान निर्माणमा छ । कम्तीमा पनि २५ देखि ३० हजार दर्शक क्षमताको रंगशाला बन्ने हो भने क्यान आत्मनिर्भर बन्न सक्छ । जसले गर्दा हामी आफ्नो घरेलु संरचनालाई बलियो बनाउन सक्छौं । ग्रासरुटमा लगानी बढाउन सक्छौं । जसले आइसिसीका सर्तहरू पूरा गर्न सहयोग पुग्छ ।’

ट्वान्टी -२० अन्तर्राष्ट्रिय शृंखलामा प्रतिस्पर्धा गर्दै नेपाल र वेस्ट इन्डिज ।

पूर्ण सदस्यको हैसियत दिन आइसिसीका सर्त

आइसिसीको पूर्ण मान्यता प्राप्त गर्न कुनै पनि टोलीले आठ वर्षको अन्तरमा तीन वटा विश्वकप खेलेको हुनुपर्नेछ । त्यसमा एकदिवसीय वा टी-ट्वान्टी जुनसुकै स्वरूपमा भए पनि तीन विश्वकप खेले सम्बन्धित देश पूर्ण सदस्य बन्नका लागि लायक हुनेछ ।

नेपालले सन् २०२४ र २०२६ मा लगातार दुई पटक पुरुष टी-ट्वान्टी विश्वकप खेल्दैछ । अबको ६ वर्ष भित्रमा थप एक पटक विश्वकपमा स्थान बनाउन सके नेपालले यो सर्त पूरा गर्नेछ ।

– सोही अवधिमा आइसिसी वरीयतामा शीर्ष १० स्थानभित्र रहेका कम्तीमा दुई फरक टोलीविरुद्ध कम्तीमा निकाल्नुपर्ने हुन्छ ।

नेपालल भर्खरै वेस्ट इन्डिविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रियमा दुई जित निकालेको छ । अब अर्को कुनै टिमविरुद्ध दुई जित निकाल्न सके नेपालले यो सर्त पनि पूरा गर्नेछ ।

– टेस्ट मान्यता प्राप्त गर्न पुरुष राष्ट्रिय टोलीले मात्र उत्कृष्ट प्रदर्शन गरेर पुग्दैन । त्यसका लागि महिला टोली र उमेरसमूहको प्रदर्शन पनि उस्तै हुनुपर्छ । आइसिसीको सर्तअनुसार पूर्ण सदस्यता पाउन महिला टोलीले चार वर्षको अन्तरमा कम्तीमा पनि एउटा विश्वकप खेलेको हुनुपर्नेछ ।

नेपाली महिला टोलीको प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा त्यति उत्साहजनक छैन । टोलीले हालसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन ।

–यु-१९ टोलीले आठ वर्षको अन्तरालमा कम्तिमा पनि दुई वटा विश्वकप खेलेको हुनुपर्नेछ ।

नेपालको यु-१९ पुरुष टोलीले भने ८ पटक एकदिवसीय विश्वकप खेलिसकेको छ । महिला टोलीले पनि एक पटक ट्वान्टी-२० विश्वकप खेलिसकेको छ । पछिल्लो आठ वर्षमा भने महिलातर्फ एक पटक खेलेको छ भने पुरुषमा पनि एक पटक मात्र खेलेको छ ।

राष्ट्रिय महिला क्रिकेट टोली । 

–यसैगरी घरेलु क्रिकेटको संरचना पनि बलियो हुनुपर्छ । आइसिसीको सर्तअनुसार वर्षमा कम्तीमा पनि एउटा पुरुष एकदिवसीय र टी-ट्वान्टी प्रतियोगिता हुनुपर्नेछ । यसैगरी महिला र यु–१९ टोलीले पनि नियमित घरेलु प्रतियोगितामा सहभागिता जनाइरहेको हुनुपर्नेछ ।

नेपालमा महिला र पुरुष दुवैतर्फ सबै उमेरसमूहमा एकदिवसीय र २० ओभरका घरेलु प्रतियोगिताको संरचना छ । तर त्यसले नियमितता नपाइरहेका कारण भने आइसिसीको मापदण्ड पूरा हुँदैन ।

आइसिसीको सर्तअनुसार पूर्ण सदस्यता प्राप्त गर्नका लागि कम्तिमा पनि दुई वटा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान चाहिन्छ । 

अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटसहित १० हजार दर्शक क्षमताको प्यारापिट बन्दैछ । यो नेपाललाई आफ्नाे लक्ष्य प्राप्तीको बाटोमा कोशेढुंगा साबित हुन सक्छ ।

नेपालको अन्तर्राष्ट्रिय यात्रा

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपालले सन् २०१४ मा टी-ट्वान्टी  अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यसैगरी नेपाल सन् २०१८ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोलीमा रूपमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेटमा निकै परिवर्तन देखिएका छन् । क्यानले आइसिसीबाट पाउने बजेटमा वृद्धि भएको छ । यसले क्रिकेटको विकासमा सहयोग पुगेको छ ।

टोलीले हालसम्म सन् २०१४ र २०२४ गरी दुई पटक टी-ट्वान्टी विश्वकप खेलिसकेको छ । यस्तै नेपाल सन् २०२६ को टी-ट्वान्टी  विश्वकपका लागि पनि छनोट भइसकेको छ ।

आइसिसीका पूर्ण सदस्यहरू

आइसिसीमा हाल ११० राष्ट्र आबद्ध छन् । जसमा १२ राष्ट्रले मात्र टेस्ट मान्यता पाएका छन् । पछिल्लो पटक सन् २०१७ मा अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता प्राप्त गरेका थिए ।

त्यसअघि अस्ट्रेलिया, इङ्ल्यान्ड,भारत, वेस्ट इन्डिज, पाकिस्तान, दक्षिण अफ्रिका श्रीलंका, न्युजिल्यान्ड, जिम्बावे र बंगलादेशले टेस्ट मान्यता प्राप्त गरेका थिए ।