काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले अहिलेको संवेदनशील परिस्थितिमा सबै एक ठाउँमा आएर शान्ति र स्थिरता कायम गर्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत अराजकता र हिंसाले देश नबनाउने उल्लेख गर्दै समाधान नेपालीबीचमै रहेको बताएका छन् । ‘अराजकता, हिंसा र निर्कुन्स्ताले समाज र देश बनाउँदैन। देश नै बाँकी रहेन भने, जो जसले जुन ठाउँमा जे पद वा जिम्मेवारी पाए पनि, हामीलाई धेरै गाह्रो हुने छ यो ढलेको संरचना उठाउन। शान्ति र संयमको प्रतीक भनेर चिनिने हामी नेपाली, हाम्रो यो परिस्थितिले अब सायद हामीलाई गलत पहिचानतिर धकेलीदै छ। समाधान हामीबीचमै छ, मौका नपाएर,नदिएको हो अब सायद चेतना भएसँगै सबै नयाँ पुराना पुस्ताको सक्षम नेतृत्वले परिवर्तन ल्याउन सुधारिएको व्यवस्थित प्रबन्ध अनि जिम्मेवारी बोक्नु पर्नेछ्र हामी उहाँहरूलाई सहयोग र समर्थन गरौँ । देशमा अमूल परिवर्तनको उद्देश्यका साथ हिँड्नु भएका नयाँ र पुराना नेतृत्व सबैलाई एउटै ठाउँमा आएर अहिलेको परिस्थितिलाई सम्हाली देशमा ठूलो क्षति हुन नदिई, शान्ति र स्थिरता कायम गर्न सहयोगको अनुरोध गर्दछु, संयमित बनौ,एकताबद्द हौ,’ पारसले लेखेका छन् ।
सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको जेन जी पुस्ताको प्रदर्शनमा सोमबार प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा ३० जना युवाले ज्यान गुमाइसकेका छन् ।