काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई अनुबन्ध गरेको जनाएको छ । गतवर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा उपविजेता भएको सुदूरपश्चिमले सिजन दुईका लागि भित्र्याएको लिन पहिलो विदेशी खेलाडी हुन् ।
ट्वान्टी २० स्वरुपमा कुल २९३ खेल खेल्दै ८ हजारभन्दा बढि रन बनाएका लिनले अस्ट्रेलियाका लागि ट्वान्टी २० मा १८ तथा एकदिवसीयमा चार अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अस्ट्रेलियन बिग बास लिगका प्रभावशाली ब्याटर लिनलाई अनुबन्ध गर्न पाएकोमा सुदूरपश्चिमले खुसी व्यक्त गरेको छ ।
‘लिन एकजना प्रमाणित विजेता खेलाडी हुन् । अस्ट्रेलियन बिग बास लिगका सर्वकालिन उच्च रन स्कोरर तथा छैटौं हिटर लिनले इन्डियन प्रिमियर लिगलगायतका विश्वकै सर्वाधिक केही प्रतियोगितामा पनि अनुभव लिइसकेका छन्,’ सुदूरपश्चिमले विज्ञप्तिमा लेखेको छ ।
क्लबले जनाएअनुसार फ्रेन्चाइज मालिक स्वतन्त्रप्रताप शाहले पहिलो सिजनदेखिनै अस्ट्रेलियाका प्रतिष्ठित खेलाडी भित्र्याउने योजना बनाइरहेको बताएका छन् । क्रिस लिनलाई अनुबन्ध गर्न पाएकोमा खुसी व्यक्त गर्दै मालिक शाहले लिनको उपस्थितीले टिम थप बलियो बन्ने विश्वास व्यक्त गरेका छन् ।
क्रिस लिनले पनि एनपिएल खेल्न आफू निक्कै उत्साहित रहेको बताएको सुदूरपश्चिमले जनाएको छ ।