काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिता खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार मात्र स्वदेश फर्कने भएकाे छ ।
हवाई उडानको समस्याका कारण युवा टोलीको स्वदेश फर्कने तालिका एकदिन पर धकेलिएको हो ।
मंगलबार जेन जी प्रदर्शनका कारण विषम परिस्थिति उत्पन्न हुँदा राजधानीको त्रिभुवन विमानस्थलका सबै हवाई उडानहरु बन्द गरिएको थियो । बुधबार अन्तर्राष्ट्रिय विमानस्थल सुरुक्षा समिति बैठकले दिउँसो ३ः३० बजे देखि हवाई उडानहरु पुनः सञ्चालन गरेको थियो । नेपाली टोली बुधबार राति नै दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्कने तालिका थियो ।
दुबई विमानस्थलमा नेपाल फर्कने यात्रीहरुको चाप अत्याधिक रहेकाले ‘फ्लाई दुबाई’ एयरलाइनले टोलीको हवाई उडान ‘रि-सेड्युल’ गर्यो । जसका कारण टोलीले सास्ती भोगेको हो ।
बुधबार उडान स्थगित गरेसँगै टोली रातभर विमानस्थलमा बस्न बाध्य भयो । ताजकिस्तानको राजधानी दुशान्बेका कुनै पनि होटल खाली नभएका कारण यो परिस्थिति सृजना भएको हो ।
अहिले टोली अभ्यास मैदान एफसी इस्टिकोल नजिकै रहेको होटलमा प्रस्थान गरेका छन् । एन्फाको स्रोतका अनुसार हवाई उडानको नयाँ समय बिहान ४ बजे छ ।
नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीले छनोट प्रतियोगितामा सबै तीन खेल हारेको थियो । समूह ‘के’ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० ले पराजित भएको नेपाल त्यसपछि सिरियासँग ४-२ ले निराश बनेको थियो । अन्तिम खेलमा फिलिपिन्सले नेपाललाई ४-० ले हराएको थियो ।