काठमाडौं । ‘फिफा अन्तर्राष्ट्रिय विन्डो’ अन्तर्गत दुई मैत्रीपूर्ण खेलका नेपाल आएको बंगलादेशी टोली ढाका पुगेको छ ।
बिहीबार दिउँसो ३ बजे एयर फोर्सको 'सी-१३०बी' काे विशेष उडानमार्फत टोली त्रिभुवन विमानस्थलबाट ढाका प्रस्थान गरेको थियो । साढे एक घण्टाको उडानपछि टोली ढाका पुगेको हो ।
शनिबार नेपाल र बंगलादेशबीच पहिलो अन्तर्राष्ट्रिय खेल सम्पन्न भएको थियो । खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुई दिनको आरामपछि मंगलबार यी दुईबीच दोस्रो मैत्रीपूर्ण खेल हुने तालिका थियो । तर, सोमबार काठमाडौंमा जेनजीको प्रदर्शनका कारण विषम परिस्थिति उत्पन्न भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरक्षालाई प्राथमिकतामा राख्दै खेल स्थगित गरेको थियो ।
सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट सोमबार काठमाडौं र सुनसरीमा ४ सयभन्दा बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए । जसका कारण मंगलबार जेनजी प्रदर्शनले अर्कै रुप लियो । परिस्थिति असामान्य र अनियन्त्रित भएसँगै त्रिभुवन विमानस्थालका सबै हवाई उडानहरु बन्द गरिएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकले दिउँसो ३ः३० बजे देखि हवाई उडानहरु पुनः सञ्चालन गरेको थियो ।
'टोलीलाई बिहीबार बंगलादेशको वायुसेनाले सञ्चालन गर्ने सैन्य विमानमार्फत ढाका लगिएको हो । सुरुमा विमान बिहान ११ः३० बजे उड्ने तालिका थियो । तर, उडान साढे दुई घण्टा ढिलो हुन पुग्यो,'एन्फा प्रवक्ता सुरेश शाहले भने ।
टोली राजधानीको रवीभवनस्थित होटल क्राउन इम्पेरियलमा बस्दै आएको थियो ।