काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालको पछिल्लो राजनीतिक संकटप्रति प्रतिक्रिया दिएका छन् ।
बुधबार देशको वर्तमान परिस्थितिप्रति अल्मुताइरीले सामाजिक संजाल फेसबुकमार्फत भावनात्मक सन्देश लेखेका हुन् ।
‘हामी प्रशिक्षकहरूलाई राजनीतिक कुराहरुमा संलग्न हुने अनुमति छैन,’ अल्मुताइरीले लेखेका छन्, ‘म यो समयामा नेपाल र नेपाली जनताका लागि प्रार्थना गरिरहेको छु । नेपाललाई अल्लाहले बचाउन् ।’
अल्मुताइरी नेपाली राष्ट्रिय टोलीको जिम्मेवारीमा रहँदा विवादै विवादले घेरिएका प्रशिक्षक हुन् । पटक पटक विवादमा तानिरहने अल्मुताइरीको प्रशिक्षणमा नेपालले माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको थियो ।
त्यस्तै अल्मुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणसम्म पुगेको थियो ।