काठमाडौं । इन्डियन प्रिमियर लिग(आइपिएल) मा बुधबार एक-अर्काको सामना गर्दा राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स पहिलो जितको लक्ष्यमा हुनेछन् ।
खेल गुहवाटीस्थित बार्सापरा क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा राजस्थान सनराइजर्स हैदराबादसँग ४४ रन तथा कोलकाता रोयल च्यालेन्जर्स बेङ्लुरुसँग सात विकेटले पराजित भएका थिए ।
रियान परागको कप्तानीमा रहेको राजस्थान ध्रुव जुरेल, सिम्रन हेटमायर, तुषार देशपाण्डे, महेश तिक्क्षणाजस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । नियमित कप्तान सन्जु सामसन चाेटबाट पूर्ण रूपमा निकाे नहुँदा रियानले कप्तानी जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
पहिलो खेलमा ध्रुवले ७० रन बनाउँदा तुषारले तीन विकेट लिएका थिए ।
यता अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकातालाई सुनिल नारायण, आन्द्रे रसेल, वरुण चक्रवर्ती, हर्षीत रानाजस्ता खेलाडीको साथ रहनेछ ।
अघिल्लो खेलमा नारायणले ४४ रन बनाउनुका साथै एक विकेट पनि लिएका थिए ।
आइपिएलमा हालसम्म यी दुईबीच ३० खेल भएका छन् । जसमा दुवै टोलीले समान १४ जित निकाल्दा दुई खेल विना नतिजा टुंगिएको छ ।
गत संस्करणमा राजस्थानले दुई विकेटको जित निकाल्दा एक खेल वर्षाका कारण रद्द भएको थियो ।