काठमाडौं । कप्तान श्रेयस अय्यरको ९७ रनप्रेरित पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई ११ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।
नरेन्द्र मोदी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातले ५ विकेटको क्षतिमा मात्र २३२ रन बनायो ।
गुजरागतको लागि साई सुदर्शन र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । सुदर्शनले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।
जस बटलरले ३३ बलमा ४ चौका र २ छक्कासहित ५४ रन जोडे । गिलले १४ बलमा २ चौका र ३ छक्कासहित ३३ रन बनाए । सेर्फाने रुथरफोर्डले ४६ रनको योगदान गरेका थिए ।
पञ्जाबका अर्शदीप सिंहले २, मार्को जासेन र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।
त्यसअघि पञ्जाबका लागि कप्तान श्रेयसले ४२ बलको सामना गर्दै ५ चौका र ९ छक्का प्रहार गरेका थिए । आइपिएल इतिहासमा पहिलो शतक बनाउन उनी ३ रनले चुके ।
पाँचौ विकेटका लागि श्रेयसले शंशाक सिंहसँग अविजित ८१ रनको साझेदारी गरेका थिए । शंशाकले १६ बलमा ६ चौका र २ छक्कासहित अविजित ४४ रन बनाए । ओपनर प्रियान्स आर्यले ४७ रनको योगदान गरे ।
गुजरातका लागि साई किशोरले ३ विकेट, राशिद खान र कागिसो रबाडाले समान १ विकेट लिएका थिए ।