काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एक खेल अगावै प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
साबिक विजेता पुलिस सातौं पटक फाइनल पुगेको हो । मंगलबार दाङको देउखुरी क्रिकेट मैदानमा पुलिसले कर्णाली प्रदेशविरुद्ध ४४ रनको जित दर्ता गर्यो ।
जितसँगै आठ खेलमा १६ अंक जोडेको पुलिस शीर्षस्थानमा छ । अन्तिम खेलमा हार बेहोरे पनि पुलिसलाई कुनै असर गर्नेछैन । पराजित कर्णाली भने ९ खेलबाट आठ अंकका साथ पाँचौं स्थानमा छ ।
पुलिसले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको कर्णाली २४ ओभरमा १०३ रनमै समेटियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसका लागि ललितनाराण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिदै सर्वाधिक ६ विकेट लिए । यससँगै ललितले १०० विकेट पूरा गर्ने पहिलाे बलरकाे कीर्तिमान बनाए ।
यसैगरी, सागर ढकालले दुई तथा करण केसीले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।
पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४, सागर ढकालले अविजित २२ र श्रवण यादवले ११ रन बनाए ।
कर्णालीका लागि अनुज चनराले चार, दिवान पुनले तीन तथा दिनेश अधिकारी र सुनिल धमलाले समान एक विकेट लिए ।