काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा दिल्ली यु-१९ टोलीविरुद्ध पाँच विकेटको सहज जित दर्ता गरेको छ ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल बिहीबार हुनेछ ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा मंगलबार दिल्लीले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि अमर मिश्रले २७, रोशन विश्वकर्माले अविजित २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन बनाए ।
दिल्लीका लागि अमन चौधरीले दुई तथा क्रिरित कौशिक, कप्तान रौनक वेग्हेला र शुवम दुबेले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले २३.२ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको योगफल तयार पारेको थियो ।
दिल्लीका लागि साथक पालले २९, शान्तानु यादव र आदित्य भण्डारीले समान १३, अतुल्य पाण्डेले ११ र प्रनभ पन्तले १० रन बनाए ।
नेपालका लागि अपराजित पौडेल र सिब्रिन श्रेष्ठले समान तीन, विपिनप्रसाद शर्मा र अशोक धामीले समान दुई विकेट लिए ।