काठमाडौं । रिजन ढकालको उत्कृष्ट प्रदर्शनप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
जितसँगै आठ खेलमा आठ अंक जोडेको बागमती चौथो स्थानमा उक्लिएको छ । पराजित कर्णाली समान खेलबाट आठ अंकका साथ पाँचौं स्थानमा छ ।
दाङको देउखुरी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका लागि इशान पाण्डेले २२, आशुतोष घिरैयाले अविजित १९ र शुभ कंसाकारले अविजित १६ रन बनाए ।
कर्णालीका लागि एकमात्र विकेट दीपेन्द्र रावतले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली १९.१ ओभरमा ५८ रनमै समेटिएको थियो । कर्णालीका लागि सुनिल धमलाले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि रिजन ढकालले ८.१ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी सूर्य तामाङको नाममा चार विकेट रह्यो ।