काठमाडौं । सूर्य तामाङको उत्कृष्ट प्रदर्शनप्रेरित बागमती प्रदेशले प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार कोशी प्रदेशलाई १३१ रनले पराजित गरेको छ ।
जितसँगै सात खेलमा ६ अंक जोडेको बागमती छैठौं स्थानमा उक्लिएको छ । कोशी समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।
दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमै समेटियो । कोशीका लागि अइस भट्टराईले ३७, सुजन थपलियाले २५ र फिर्दोश अन्सारी २४ रन जोडे ।
बागमतीका लागि सूर्यले ९ ओभरमा दुई मेडनसहित २७ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी रिजन ढकालले तीन र साकार गजुरेलले दुई विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनको योगफल तयार पार्यो ।
बागमतीका लागि शुभ कंसाकारले ३९, आशुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाए ।
पहिलो विकेटका लागि आशुतोष र इशानले ६२ रनको साझेदारी गरेका थिए । कोशीका लागि सुजन थपलिया र प्रकाश कार्कीले समान दुई तथा ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कंडेल र फिरदोस अन्सारीले समान एक विकेट लिए ।