काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो जित दर्ता गरेको छ ।
शुक्रबार सिद्धार्थनगर क्रिकेट मैदानमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गर्यो । जितसँगै ६ खेलमा आठ अंक जोडेको एपिएफ तेस्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम सात खेलबाट चार अंकका साथ छैटौं स्थानमा छ ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो ।
एपिएफका लागि सन्दीप जोराले ६८ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३२, लोकेश बमले १९, भुवन कार्की, कप्तान रोहितकुमार पौडेलले १४ र सुमीत महर्जनले १२ रन बनाए ।
तेस्रो विकेटका लागि सन्दीप र आसिफले ५० रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि शेर मल्ल, विकाश आग्री र कप्तान नारायण जोशीले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि निश्चिल खत्रीले ९२ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । यसैगरी प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, शेर मल्लले ११ तथा सुनिल चन्द र हेमन्त धामीले समान १० रन बनाए ।
तेस्रो विकेटका लागि निश्चिल र प्रकाशले ९२ रनको साझेदारी गरे । एपिएफका लागि रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान तीन, भुवन कार्कीले दुई र अभिषेक गौतमले एक विकेट लिए ।