काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौं जित दर्ता गरेको छ ।
शुक्रबार दाङको देउखुरी क्रिकेट मैदानमा आर्मीले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित निकाल्यो । जितसँगै सात खेलमा १२ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । पराजित गण्डकी समान खेलबाट दुई अंकका साथ पुछारमा छ ।
गण्डकीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य आर्मीले २६.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि तृतराज दासले ३७, बसिर अहमदले अविजित ३२, भीम सार्कीले १४, इम्रान शेखले १२ र सोमपाल कामीले अविजित १० रन बनाए ।
गण्डकीका लागि चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले सामन एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ३०.३ ओभरमा ११६ रनमै समेटिएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ३३, दीपक डुम्रेले १९, कमल परियारले १७ र कप्तान विपिन खत्रीले १६ रन बनाए ।
आर्मीका लागि शाहब आलमले १० ओभरमा एक मेडनसहित ४२ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी कुशल मल्ल र नरेन साउदको नाममा सामन दुई विकेट रहयो ।