काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकास मन्त्रालयलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानकाे स्तरोन्नति ताेकिएकै समयमा सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रालयका विषयमा बुधबार जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र त्रिवि मैदानको स्तरोन्नति गर्ने बताएका थिए ।
मैदानमा प्यारापिट र फ्ल्डलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मुल्यांकनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो । ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गरे ।
शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९.३५ र पुँजीगत प्रगति १२.०४ प्रतिशत मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।