काठमाडौं । ओपनरद्धय स्टेर कालिसको सान्दार पारीप्रेरित नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपालमाथि फराकिलो जित हासिल गरेको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले हराएको हो । जितसँगै नेदरल्यान्ड्सले शीर्ष स्थानमा रहँदै उपाधि जित्ने सम्भावनालाई जिवितै राखेको छ ।
पाँच खेलमा तीन जितसँगै नेदरल्यान्ड्सले ६ अंक जोडेको छ । अब नेदरल्यान्ड्सले बिहीबार चार खेलमा ८ अंक जोडेको थाइल्यान्डको सामना गर्नेछ । उपाधि होडबाट बाहिरिसकेको नेपालले आफ्नो अन्तिम खेलमा थाइल्यान्डसँग खेल्नेछ ।
नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.४ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । नेदरल्यान्ड्सका लागि प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोरमा आफ्नो नाम लेखाएकी कालिसले बलमा ११ चौका र दुई छक्कासहित अविजित ९८ रन बनाइन् । उनलाई साथ दिएकी फेबे मोल्केनबोएरले ४९ बलको सामना गर्दा चार चौकासहित ४८ रनको पारी खेलिन् । शृंखलामा यो सबैभन्दा ठूलो रनको साझेदारी हो ।
नेपालकी सिता रानामगर सबैभन्दा महंगो बलर सावित भइन् । तीन ओभर बलिङ गरेकी सिताले २६ रन खर्चिइन् ।
यसअघि युवा ब्याटर पूजा महतोको अर्धशतकीय पारीप्रेरित नेपालले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १४५ रनको योगफल खडा गरेको थियो ।
पूजाले ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् । शृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो ।
अन्तर्राष्ट्रिय ट्वान्टी २० मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेका थिए ।
पूजाले कप्तान इन्दु वर्मासँग मिलेर तेस्रो विकेटको लागि ७८ रनको अर्धशतकीय साझेदारी गरिन् । इन्दुले पेभिलियन फर्किनुअघि ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन् । यसबाहेक रुवीना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन् । ओपनर सम्झना खड्का र ममता चौधरीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्यान्ड्सका लागि आइरिस ज्वीलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन् । त्यस्तै क्योरोलिन डी लेन्ज र हेथर सेगर्सको नाममा समान एक विकेट रह्यो ।
यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।
नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो ।