काठमाडौं । युवा ब्याटर पूजा महतोको अर्धशतकीय पारीप्रेरित नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १४५ रनको योगफल खडा गरेको हो ।
प्रतियोगिताकै व्यक्तिगत उच्च स्कोरमा आफ्नो नाम लेखाएकी पूजाले ५१ बलमा पाँच चौकासहित अविजित ६२ रनको योगदान गरिन् । शृंखलामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक पनि हो ।
अन्तर्राष्ट्रिय ट्वान्टी २० मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष भएको एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको पारी खेलेका थिए ।
पूजाले कप्तान इन्दु वर्मासँग मिलेर तेस्रो विकेटको लागि ७८ रनको अर्धशतकीय साझेदारी गरिन् । इन्दुले पेभिलियन फर्किनुअघि ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन् । यसबाहेक रुवीना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन् । ओपनर सम्झना खड्का र ममता चौधरीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेदरल्यान्ड्सका लागि आइरिस ज्वीलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन् । त्यस्तै क्योरोलिन डी लेन्ज र हेथर सेगर्सको नाममा समान एक विकेट रह्यो ।
नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।
यता नेदरल्यान्ड्स तेस्रो जित निकाल्दै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग ८ विकेट र १७ रनको को हार बेहोरेको थियो ।