प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगित

कोशीमाथि आर्मीको सानदार जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितमा कोशी प्रदेशमाथि नौ विकेटको सानदार जित निकालेको छ । 

जितसँगै आर्मीले तीन खेलमा चार अंक जोडेको छ । चारै खेलमा पराजित कोशी अंकविहिन छ । 

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहीबार कोशीले प्रस्तुत गरेको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष कार्कीले अविजित ३२, इम्रान शेखले ३२ र कुशल मल्लले अविजित २२ रन बनाए । 

पहिलो विकेटका लागि सन्तोष र इम्रानले ६९ रनको साझेदारी गरे । कोशीका लागि एक मात्र विकेट सुजन थपलियाले लिए ।

त्यसअघि टस हारेरे ब्याटिङको निम्तो पाएको कोशीले २४.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेको थियो ।

कोशीका लागि कप्तान अंकित सुवेदीले ३७ बलमा नौ चौकाको मद्दतले सर्वाधिक ४१ रन बनाए । अन्य ब्यटारले दोहोरो अंकमा दोहोरो अंकमा रन जोड्न सकेनन् । 
कुनै समय ७०-३ को अवस्थामा रहेको कोशीले थप १८ रन बनाउँदा बाँकी सात विकेट गुमाएको थियो ।

आर्मीका लागि शहाब आलमले ६.४ ओभरमा तीन मेडनसहित मात्र १४ रन खर्चिएर ६ विकेट लिए । यसैगरी कुशल मल्लले दुई तथा सोमपाल कामी र विवेक यादवले समान एक विकेट लिए ।