काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यलाई बुधबार बिहान बैठकलाई बोलाएको छ ।
उज्वेकिस्तानको राजधानी तास्केन्दमा एएफसी एसियन कप छनोट प्रतियोगिता खेलेर सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई एन्फाले दुई दिनपछि छलफलका लागि बिहान सातदोबाटोस्थित मुख्यालय बोलाएको हो ।
‘खेलाडी डटकम’लाई राष्ट्रिय टिमकी एक खेलाडीले जानकारी गराए अनुसार टिम म्यानेजर वृन्दा देवानले सबै खेलाडीलाई एन्फा बैठकका बारेमा जानकारी दिएकी हुन् । बैठकको एजेन्डा भने खुलाइएको छैन ।
पहिलो पटक छनोट चरण पार गरेर एसियन कपमा स्थान बनाउने प्रतिबद्धतासहित उज्वेकिस्तान उडेको नेपाली टोली त्यसमा सफल हुन सकेन । समूह ‘एफ’को सुरुआती दुई खेलमा सानदार जित हासिल गरेको नेपाल निर्णायक खेलमा घरेलु टोलीसँग दूर्भाग्यजनक तरिकाले पेनाल्टी सुटआउटमा पराजित भएको थियो । योसँगै नेपालको अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपको २१औं संस्करण खेल्ने सपना समाप्त भएको छ ।
उज्वेकिस्तान भ्रमणमा रहँदा मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्ड र व्यवस्थापनबीच थुप्रै खटपटका समाचार बाहिर आएका थिए । यसबीच कप्तान चयनको विषयलाई लिएर चर्किएको विवादले मंगलबार मुर्त रूप लियो, जब कान्तिपुर तथा दी काठमाडौं पोष्टमा प्रकाशित अन्तरवार्तामा प्रशिक्षक वाइल्डले एन्फा व्यवस्थापनको खुलेरै आलोचना गरे । अन्तरवार्तामार्फत उनले नेपाल नफर्कने समेत संकेत दिएका छन् ।
सोमबारसम्म प्रशिक्षकको विवाद हल्ला मात्र रहेको दाबी गरिरहेको एन्फालाई यो समाचारले झस्काएको छ ।
यसैगरी कप्तान चयनको विषयमा पनि प्रशिक्षक र व्यवस्थापनबीच विवाद भएको थियो । लाओसविरुद्धको पहिलो खेलमा यही विवादका कारण मैदानमा सावित्रा भण्डारीले कप्तानको आर्म ब्यान्ड लगाएकी थिइन । जवकि म्याच एएफसीको आधिकारिक रिपोर्टमा भने कप्तानमा रेनुका नगरकोटेको नाम थियो ।
प्रशिक्षक प्याट्रिकको रोजाईमा सावित्रा कप्तान हुन् । तर एन्फा व्यवस्थापनले भने नियमित कप्तान अञ्जिला तुम्बाप्पो सुब्बा बेन्चमै सीमित भएपछि उपकप्तान सावित्राले टिम नेतृत्व गरेको बताएको छ ।
प्रशिक्षक प्याट्रिकले एन्फा नसुध्रिए आफू नफर्कने बताएको अवस्थामा एन्फाका महासचिव किरण राईले कप्तान फेरिनु, टिमभित्र सामान्य बहस हुनु र प्रशिक्षकको निरन्तरता हुनु वा नहुनु फुटबलको सामान्य प्रकृया मात्र भएको बताएका छन् ।
बुधबारको बैठक यिनै विषयमा केन्द्रित रहने अनुमान छ ।