काठमाडौं । भुटानमा यही अगस्ट २० बाट सुरु हुने साफ यु-१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार चखेलतालिका सार्वजनिक गरेको हो ।
चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । अगस्ट २० गते नै साँझ ६ बजे आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ ।
डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अगस्ट ३१ सम्म चल्ने प्रतियोगिता राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा हुनेछ ।
तल्लो उमेर समूहको यो प्रतियोगिताले सातौं संस्करण पार गर्दा नेपालले एकपटक मात्र उपाधि चुमेको छ । नेपाली टोलीले तीन वर्ष अगाडि बंगलादेशमा सम्पन्न यु–१५ च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यतिबेला नेपालले डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा घरेलु टोली र भुटानलाई पछि पारेको थियो ।
