काठमाडौं । चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको पहिलो खेलमा तान्जेनियाले नेपालाई जितका लागि एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको तान्जेनियाले सात विकेट गुमाउँदै निर्धारित २० ओभरमा एक सय १५ रन बनाएको हो ।
तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रन बनाइन् । २६ बलमा दुई चौका प्रहार गरेकी ओमारीलाई अस्मिना कर्माचार्यले रन आउट गराइन् ।
ऐशा मोहमदले २१ रन बनाइन् । २१ बलमा एक चौका प्रहार गरेकी ऐशालाई इन्दु बर्माले आफ्नै बलमा क्याच गरिन् । साउम एमताईले १६ रन बनाइन् । २५ बल खेलेकी साउमलाई सिंगता राईले काजल श्रेष्ठले स्टम्पिङ गरिन् । ओपनर तथा कप्तान फातुमा किवासुलाई रुविना क्षेत्री बेलवासेले ११ रन बनाउँदा बोल्ड गरिन् ।
तेस्रो नम्बर क्रिजमा पुगेकी मोनिका पास्कललाई संगिताले कप्तान इन्दु बर्माबाट १० रन बनाउँदा क्याच आउट गरिन् । ६ रन बनाएकी नीमा पिउसलाई इन्दु बर्माले रुबिनाबाट रन आउट गरिन् ।
९ रन बनाएकी पेरिक जाकायोलाई पुजा महतोले रुबिनाबाट क्याच आउट गराइन् ।
नेपालको लागि संगिता राईले सर्वाधिक दुई विकेट लिइन् । पूर्व कप्तान रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।
नेपालविरुद्ध खेल्दै तान्जेनियाका पेरिका जाकायो र शेइला किजितोले डेब्यु गरेका छन् ।
नेपाली टोली इन्दु बर्माको कप्तानीमा पहिलो जित निकाल्ने दाउँमा छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दुलाई पहिलो पटक कप्तानी जिम्मेवारी दिएको थियो । एक दशकदेखि कप्तानी जिम्मेवारी लिएकी अर्की अलराउन्डर रुबिना क्षेत्रीलाई पदमुक्त गराउँदै क्यानले इन्दुलाई जिम्मेवारी दिएको हो ।
प्रशिक्षकमा मनोज कटवाल पनि डेब्यु जितको खोजीमा छन् । कटवाल पहिलो जित निकाल्दै सानदार सुरुआत गर्ने दाउमा छन् । नेपाल पुलिस क्लब र चितवन राइनोजको प्रशिक्षक सम्हालेका कटवाल घरेलु क्रिकेटमा सफल प्रशिक्षक मध्येका एक हुन् ।
नेपालको कप्तानी इन्दुले गरेपनि रुविनासहित सिता राना मगर जस्ता सिनियर खेलाडीको साथ टोलीलाई हुनेछ । उपकप्तान बिन्दु रावलसहित अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगोल, पुजा महतो, रोमा थापा, सम्झना खड्का, संगिता राई, सोनी पाख्रिन र सोमु विष्ट छन् ।
नेपाल र तान्जेनिया पहिलो पटक भिडिरहेका छन् । हालसम्म दुई देशबीच प्रतिस्पर्धा भएको छैन । फातुमा किबासुको कप्तानीमा रहेको तान्जेनिया आईसिसी वरियतामा १९औं र नेपाल २१औं स्थानमा छ । नेपालले यसपछि शृंखलामा आयोजक हङकङ र जापानसँग खेल्नेछ ।
तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् ।