काठमाडौं । एकदिवसीय विश्वकपका लिग खेलहरु सकिएसँगै सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खेल्ने टोलीको टुङ्गो लागेको छ ।
च्याम्पियन्स ट्रफीमा आठ टोली सहभागी हुनेछन् । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपको अंक तालिकाको शीर्ष आठ टोलीले नै च्याम्पियन्स ट्रफी खेल्नेछन् ।
विश्वकपको लिग चरणमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको भारतले १८ अंक जोड्यो । समान १४ अंककका साथ दक्षिण अफ्रिका र अस्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा रहे ।
चौथो स्थानमा रहेको न्युजिल्यान्डले १० अंक जोड्दा समान ८ अंक जोडेका पाकिस्तान र अफगानिस्तान पाँचौं र छैटौं स्थानमा रहे । सातौं स्थानको इङ्ल्यान्डले ६ अंक जोड्यो ।
बंगलादेश, श्रीलंका नेदरल्यान्ड्सको समान चार अंक भए पनि रन रेटका आधारमा बंगलादेश आठौं स्थानमा रहँदै च्याम्पियन्स ट्रफीका लागि छनोट भयो । श्रीलंका नवौं र नेदरल्यान्ड्स १० औं स्थानमा रहे ।
सहभागी टोलीलाई टोलीको समूहमा विभाजन गरिनेछ । प्रतियोगितामा कुल १५ खेल हुनेछन् ।
पछिल्लो पटक सन् २०१७ मा इङ्ल्यान्डमा भएको च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानले जितेको थियो ।