काठमाडौं । घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्समाथि १ सय ६० रनको फराकिलो जित निकालेको छ ।
लिग चरणमा शतप्रतिश जित निकालेको भारतले नौ खेलमा १८ अंक जोड्यो । सातौं हारसँगै समान खेलाबाट चार अंकका साथ पुछारमा रहेको नेदरल्यान्ड्स च्याम्पियन्स ट्रफीका लागि छनोट हुन सकेन ।
बेङ्गलोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा भारतले प्रस्तुत गरेको ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा समेटियो ।
नेदरल्यान्ड्सका लागि तेजा निदामानुरुले ३९ बलमा ६ छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी साइब्रान्ड एन्गलब्रेचले ४५, कोलिन एकरम्यानले ३५, म्याक ओ’ डोउडले ३०, कप्तान स्टक एड्वाडर्सले १७, लोगन भान बिक र रोलोफ भान डेर मेर्वीले समान १६ तथा बास डि लिडेले १२ रन बनाए ।
दोस्रो विकेटका लागि एकरम्यान र ओ’ डोउडले ६१ रनको साझेदारी गरे । भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव र रविन्द्र जडेजाले समान दुई तथा विराट कोहली र रोहित शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ४ सय १० रनको योगफल तयार पारेको थियो ।
भारतका लागि श्रेयश अय्यरले ९४ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित १ सय २८ रनको योगदान गरे । केएल राहुलले ६४ बलमा ११ चौका र चार छक्काको मद्दतले १ सय २ रन बनाए ।
यसैगरी कप्तान रोहित शर्माले ५४ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६१, शुभमन गिलले ३२ बलमा चार छक्का र तीन चौकाको मद्दतले ५१ र विराट कोहलीले ५६ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५१ रन जोडे ।
चौथो विकेटका लागि श्रेयश र केएलले २ सय ८, पहिलो विकेटका लागि रोहित र शुभमनले १ सय तथा तेस्रो विकेटका लागि श्रेयश र विराटले ७१ रनको साझेदारी गरे ।
नेदरल्यान्ड्सका लागि बास डि लिडेले दुई तथा पउल भान मिक्रेन र रोलोफ भान डेर मेर्वीले समान एक विकेट लिए ।