काठमाडौं । श्रेयश अय्यर र केएल राहुलको शतकप्रेरित घरेलु टोली भारतले आइसिसी एकदिवसीय विश्वकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससामू ४ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बेङ्गलोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ४ सय १० रनको योगफल तयार पारेको थियो ।
भारतका लागि श्रेयशले ९४ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित १ सय २८ रनको योगदान गरे । केएलले ६४ बलमा ११ चौका र चार छक्काको मद्दतले १ सय २ रन बनाए ।
यसैगरी कप्तान रोहित शर्माले ५४ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६१, शुभमन गिलले ३२ बलमा चार छक्का र तीन चौकाको मद्दतले ५१ र विराट कोहलीले ५६ बलमा पाँच चौका र एक छक्काको मद्दतले ५१ रन जोडे ।
चौथो विकेटका लागि श्रेयश र केएलले २ सय ८, पहिलो विकेटका लागि रोहित र शुभमनले १ सय तथा तेस्रो विकेटका लागि श्रेयश र विराटले ७१ रनको साझेदारी गरे ।
नेदरल्यान्ड्सका लागि बास डि लिडेले दुई तथा पउल भान मिक्रेन र रोलोफ भान डेर मेर्वीले समान एक विकेट लिए ।